YOUR AD HERE
छेउ न टुप्पो
3119
like
basu dev Phuyal
Kathmandu, Bagmati, Nepal

        

           गहुँको बारीलाई गहुँबारी, मकैको बारीलाई मकैबारी भनेझैँ फापर उम्रिएको जमिन वा क्षेत्रलाई फापरबारी भन्लान् बुज्रुकहरू तर जंगलको घारी, गिट्टी बालुवाको खानीलाई पनि फापरबारी भनिँदो रै'छ यहाँ। जहाँ अमृत हुन्छ भनेर कसैले भन्यो भने पनि दश घर डुलेर एक गेडो फापर भेटिन मुश्किल छ, त्यही गाउँको नाम फापरबारी । तिनतले, साततले, हात्तीसुँडे, जुरेली आदि नामधारी गाउँहरूले, बुद्धिजीवी भनाउँदाले लेखेका शब्दकोशलाई नै गिज्याएझैँ लाग्छ।

            

           गाउँको मात्र के कुरा, जो एक लम्बरको चुइँय्या छ उसकै नाम दानवीर, जो नास्तिक छ उसकै नाम धर्मराज। फू गर्दा पनि बाह्र हात पर पुग्लाजस्तो मरनच्याँसेको नाम बलबहादुर।

               

             त्यस्तै, काठमाण्डुको सडक पेटीमा हातमा नाम्लो लिएको एक जना धुलाम्य व्यक्तिलाई भेटेँ, नाम सोधेँ, उत्तर आयो 'धनप्रसाद'। म अकमकिएँ। यदि धन उसको साथमा भैद्या भए कसरी हुन्थ्यो उसको यस्तो हालत? सोचेँ उसको नामसँगै जोडिएको धनले थिचेर यस्तो भएको होला।

            

            मेरो एक जना महामूर्ख परम मित्र जसको नाम बुद्धिराम। लौ ठिकै छ बुद्धि मात्र भैद्या भए नि सुद्धि हरा'को बुद्धि भनेर जसोतसो पत्याउनै पर्थ्यो तर हरामको नाममा आदर्शवान राम जोडियो कसरी? यो त एक व्यक्तिले गर्दा दुई ओटा सुयोग्य शब्दको अपव्यय भएन र? सत्य, त्रेता र द्वापर युगका महान् शब्दहरूलाई बहुप्रयोग गर्ने कलिजुगका रामनारायण, सीताराम, श्यामकृष्ण आदि नामधारी व्यक्तिहरूलाई के भन्ने? भोलि नामकै लागि यहाँ सडकजाम, बन्द, हड्ताल, चक्काजाम लगायत देशव्यापी चरणबद्ध आन्दोलन नहोला भन्न सकिन्न। आवश्यकता भन्दा बढी जग्गा-जमिन ओगट्ने विस्तारवादीलाई भू-माफिया वा भू-सामन्त भनेझैँ आफ्नो नाममा बहुशब्दको प्रयोग गर्नेहरूलाई नाम-सामन्तको संज्ञा दिए कसो होला?

              

          विषय-प्रसङ्ग टेढोमेढो भएकोमा आशीर्वाद चाहन्छु किनकि यहाँ तपाईँको समस्या पनि उठान भएको हुन सक्छ। उसो त नाम जुराउनेले जुराइदे'सि भन्नेले भन्यो त सुन्नेलाई के दोष? "ठुलाले जे गर्यो, त्यो हुन्छ सर्वसम्मत" भनेर हाम्रा कविशिरोमणिले त्यसै कविता कोर्या होइनन्। बुज्रुक उपरबुज्रुक भनाउँदाले जे भने नि थपडी बजाउने हाम्रो नत मस्तक बानीको प्रतिफल हो यो।

               

           यस्तै झट्ट याद आयो। हाम्रा पुर्ख्यौली श्री ३ को। जसले शम्भुप्रसाद ढुङ्गेलको एउटै कविता सुनेर "ए! यिनी त आँसुकवि पो रै'छन् " भनेर भनेकै भरमा आँसुकविको थपानो भिराउँछौं हामीहरू। "मलाई त्यही केटी चाहिन्छ" भनेर बलिन्द्र धारा आँसु झार्दै गीत गाउने गायकलाई आँसु गायक किन नभन्ने? पेट मिचीमिची गलल्ल हाँसेर गीत गाउने गायकलाई हँस्यौलो गायक भन्दा न्यायसङ्गत हुन्थ्यो कि? हुन त "ठुलाको आँखा साना जति कसिङ्गर " भन्या यही हो। तिनका गिद्धे आँखाले नदेख्या पनि त हुन सक्छ। ठुलाले जे भने नि आँखा चिम्लेर ल्याप्चे ठोक्ने हाम्रो बानी कहिलेसम्म? म सपनामा पनि झसङ्ग हुन्छु यही कुराले।

           

       व्यवहार विपरीत नाम राख्ने, शब्दहरूको अवमूल्यन गर्ने, आफूलाई प्रभावशाली ठान्ने, पण्डितको नाममा चण्डित्याइँ गर्ने यी किरोहरू यस समाजको हिरो भएको देख्दा हाँसो उठ्छ। त्यसो त तिनका फोस्रा कुरामा हो का हो लगाएर पछिपछि कुद्ने हामी पनि त्यस्तै। तिनैलाई पुज्नुपर्ने, ढोग्नुपर्ने, माननीय भन्नुपर्ने यी र यस्ता कुरा संस्कारका नाममा कलङ्क हुन्।

                                        अस्तु। 

 © बासुदेव फुयाँल

फापरबारी, मकवानपुर

https://www.facebook.com/devbasu.phuyal


YOUR AD HERE
Comment:

These items will be permanently deleted and cannot be recovered. Are you sure?